च्याट जीपीटी जसबाट वार्षिक झण्डै साढे ४ करोड रकम कमाउन सकिन्छ

|

एकातर्फ विश्वमा आर्टिफिसियल इन्टेलिजेन्सका कारण करोडौं मानिसहरुको रोजगारी गुम्ने आँकलनहरु भैरहेका छन् । तर यो अत्याधुनिक प्रविधिले नयाँ-नयाँ रोजगारीका बाटोहरु पनि खुलाइरहेको छ ।

हालै एउटा समाचार आएको थियो । जसमा एकजना ३० वर्षका युवकले केवल च्याट जीपीटीबाटै तीन महिनामा करिब ५० लाख रुपैयाँ कमाए ।

आर्टिफिसियल इन्टेलिजेन्स तथा च्याट जीपीटीको प्रयोगबाट लाखौँ रुपैयाँ कमाउने सकिने अर्को उदाहरण हालै सार्वजनिक भएको छ ।

रिपोर्ट अनुसार च्याट जीपीटी तथा एआईको प्रयोग गर्ने यस्ता जागिरहरु तयार भएका छन् जसबाट वार्षिक झण्डै साढे ४ करोड रकम कमाउन सकिन्छ ।

ब्लुम्बर्ग न्यूजको एक रिपोर्ट अनुसार एआईमा काम गर्ने प्रम्प्ट इन्जिनियरको जागिर तीव्र रुपमा फस्टाइरेको छ ।
यो जागिरबाट वार्षिक तीन लाख ३५ हजार डलरसम्म आम्दानी गर्न सकिन्छ ।

यस्तै प्रम्प्ट इन्जिनियरको पढाइ पनि सुरु भएको छ । प्रम्प्ट इन्जिनियरको कामचाहिँ आर्टिफिसियल
इन्टेलिजेन्स टूल्सलाई उत्कृष्ट तरिकाले प्रयोग गरी प्रभावकारी नतिजा हासिल गर्नु हुन्छ ।

यी इन्जिनियरहरुले कुनै पनि कम्पनीको कार्यचाप तथा जनशक्तिको संख्या कम गर्दछन् र कम समयमा आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिबाट धेरै काम गरिदिन्छन् ।

प्रम्प्ट इन्जिनियर कुनै पनि क्षेत्रका हुन सक्दछन् । यसका लागि कुनै खास डिग्रीको आवश्यकता पनि पर्दैन ।
उनीहरुलाई यो कुरा थाहा हुनुपर्छ कि एआईसँग कसरी प्रश्न सोध्ने हो जसबाट सटिक जवाफ प्राप्त होस् ।
त्यो जवाफको प्रयोग कम्पनीमा जनशक्ति घटाउनमा र आम्दानी वृद्धि गर्नमा गर्न सकियोस् ।

च्याट जीपीटी तथा Midjourneyजस्ता टूल त सबैले प्रयोग गर्न सक्दछन् । तर हामीलाई यसका विभिन्न कमान्ड्सको बारेमा थाहा हुँदैन ।
जसका कारण हामीले कुनै काम गर्न घण्टौं लाग्दछ ।

प्रम्प्ट इन्जिनियरहरुलाई भने च्याट जीपीटी तथा मिडजर्नी जस्ता आर्टिफिसियल इन्टेलिजेन्स टूलका विभिन्न कमान्डहरुको बारेमा जानकारी हुन्छ ।
साथै उनीहरुलाई त्यस्ता एआई टूललाई प्रभावकारी रुपमा कसरी प्रयोग गर्ने भन्ने पनि थाहा हुनछ ।
जसका कारण उनीहरुले यी टूलको सहयोगमा कुनै पनि काम छिटो तथा सटिक रुपमा गर्न सक्दछन् ।

रिपोर्ट अनुसार गुगलको सहयोगमा स्थापित स्टार्टअप Antrhopic जस्ता कम्पनीहरुले पनि प्रम्प्ट इन्जिनियर
जस्ता पदका लागि तीन करोड डलरभन्दा धेरै वार्षिक आम्दानी हुने जागिर अफर गरिरहेका छन् ।

क्यालिफोर्नियास्थित डकुमेन्ट रिभ्यूअर कम्पनी क्लारिटीले पनि मेसिन लर्निंङ इन्जिनियरलाई वार्षिक करोडौँ रुपैयाँको तलब अफर गर्दछ ।

मेसिन लर्निंग इन्जिनियरको पदमा काम गर्नेले पनि प्रम्प्ट इन्जिनियरले गर्ने काम नै गर्नु पर्दछ ।
उक्त कम्पनीले खुलाएको मेसिन लर्निंङ इन्जिनियर पदको कार्यविवरणमा लेखिएको छ – यस्तो इन्जिनियरको
आवश्यकता छ जसले प्रम्प्टमा दखल राख्दछ अनि एआई टुल्सबाट कसरी सर्वोत्कृष्ट नतिजा हासिल गर्ने भन्ने पनि जानकारी छ ।

अमेरिकामा पछिल्ला दिनमा प्रम्प्ट इन्जिनियर पदमा रोजगारीका अवसरहरु तीव्र रुपमा बढिरहेका छन् ।
यो विषयमा महंगा कोर्सहरु पनि सुरु भैसकेका छन् । मेसिन लर्निंङ विषयमा पीएचडी गरेका जनशक्तिले यो पदमा सबैभन्दा धेरै अर्थात् वार्षिक करोडौं कमाइरहेका छन् ।

एआईमा आधारित कम्पनीको स्थापना गरेका वा एआईको विषयमा राम्रो ज्ञान तथा सीप भएका मानिसहरुका लागि पनि यो भूमिका उत्तम हुनसक्दछ ।

वास्तवमा पछिल्लो समयमा आर्टिफिसियल इन्टेलिजेन्स च्याटबटहरुको बाढी नै आएको छ ।
हरेक दिन कुनै न कुनै नयाँ च्याटबट बनिरहेको छ र ठूला कम्पनीहरुले यो क्षेत्रमा ठूलो रकम लगानी गरिरहेका छन् ।

च्याट जीपीटीपछि गुगलले पनि आफ्नो एआई च्याटबट बार्ड लञ्च गरेको छ र हाल यसको परीक्षण गरिरहेको छ ।
बार्डको बिटा भर्सनको परीक्षण सम्पन्न भएसँगै आम प्रयोगकर्तालाई उपलब्ध गराइनेछ । यी सबै परिप्रेक्ष्यमा विश्व बजारमा प्रम्प्ट इन्जिनियरहरुको माग तीव्र रुपमा बढ्ने निश्चित छ ।

२०७९ चैत्र २५, शनिबार प्रकाशित