आईफोनलाई टक्कर दिन स्मार्टफोन ल्याउँदै नोकिया

|

नोकिया विश्वबजारमा भएका उत्कृष्ट फोनकाे सूचीमा नपर्नु छुट्टै कुरा । तर, यो ब्रान्डका फोनसँग हामी कुनै न कुनै रूपले परिचित नै छौँ । एक दशक अघिसम्म विश्वको शीर्ष माेबाइल ब्रान्डमा पर्ने नाेकिया अहिले आफ्नो अस्तित्व कायम गर्न सङ्घर्षरत छ ।

विश्वमा स्मार्टफोनको बजार जति प्रतिस्पर्धी हुँदै गयो, नाेकिया त्यति नै कमजोर हुँदै गइरह्याे । विशेषगरी बजारमा एप्पल,सामसङजस्ता ब्रान्डले स्मार्टफोनकाे बजार कब्जा गरेसँगै नोकियाको अस्तित्व धराशायी बन्दै गएको हो ।

यति हुँदा पनि कम्पनी पूर्ण रूपमा विलीन भइसकेको छैन । आफूलाई बजारमा स्थापित गर्न नोकिया विभिन्न नयाँ रणनीति बुनिरहेकाे छ ।

व्यवसाय डुब्दै गएपछि सन् २०१४ मा नोकिया मोबाइल फोनको व्यवसाय माइक्रोसफ्टलाई बिक्री गरिएको थियो । त्यसपछि पुनः सन् २०१६ मा सो व्यवसाय खरिद गरेर एचएमडी ग्लोबलले मोबाइल फोन विस्तारको काम थाल्याे ।

नोकियाले बजारमा आफ्नो पुनरागमन दर्साउन छ दशकदेखिको लोगो नै परिवर्तन गरेको छ । यति मात्र नभई कम्पनीले प्रयोगकर्ताको आवश्यकतालाई मध्यनजर गर्दै नयाँ युजर इन्टरफेस (यूआई) सार्वजनिक गरेको छ ।

नोकियालाई पहिले जस्तै बजारमा स्थापित गर्न कम्पनी थुप्रै कुरा परिवर्तन गर्ने काममा केन्द्रित छ । गिजचाइनाका अनुसार पछिल्लो समय नोकिया फ्ल्यागशिप फोन निर्माणमा केन्द्रित छ । ​यसका लागि आकर्षक डिजाइन र यूआईका साथ नोकियाले आफ्नो फ्ल्यागशिप फोन छिट्टै नै सार्वजनिक गर्नेछ ।

उक्त फ्यागशिप फोनमा यस्ता विशेषता हुनेछन्, जसले सोझै एप्पलको आईफोनसँग प्रतिस्पर्धा गर्नेछ । ‘नोकिया म्याजिक म्याक्स’ नाम दिइएकाे याे फोन कम्पनीको ‘प्योर यूआई’ बाट सञ्चालित हुनेछ । यो फोन नै नोकियाको प्योर यूआई प्रयोग हुने पहिलो फोन हुनेछ ।

अगाडिपट्टि उक्त फोनको फुल स्क्रिन बेजललेस डिस्प्ले हुनेछ भने पछाडिको क्यामेराको डिजाइन करिब आईफोनको जस्तै देखिनेछ ।

यस्ता हुनेछन् नोकिया म्याजिक म्याक्सका फिचर

‘९१मोबाइल्स’ ले प्रकाशित गरेकाे समाचारलाई आधार मान्ने हो भने ‘नोकिया म्याजिक म्याक्स’ १२० हर्ज रिफ्रेश रेटसहित ६.७ इन्च एमोलेड डिस्प्लेमा उपलब्ध हुनेछ ।

६४ मेगापिक्सेल पन्च होल सेल्फी क्यामेरा हुने यो फोन स्न्यापड्रागन ८ जेन टु प्रोसेसरद्वारा सञ्चालित हुनेछ । पछाडिपट्टि फोनमा १०८ मेगापिक्सेलको मुख्य, १६ मेगापिक्सेलको अल्ट्रावाइड र ५ मेगापिक्सेलको म्याक्रो सेन्सर समावेश हुनेछ ।

साथै याे फाेन ८ जीबी, १२ जीबी र १६ जीबी र्‍याम भेरियन्टमा उपलब्ध हुनेछ । ​त्यस्तै फोनमा २५६ जीबी र ५१२ जीबी स्टोरेज भेरियन्टकाे विकल्प हुनेछ ।

सबैभन्दा रोचक कुरा यस फोनमा ७५०० एमएएच क्षमताको ब्याट्री उपलब्ध हुने बताइएको छ । यसलाई चार्ज गर्न फास्ट चार्जर पनि उपलब्ध गराइने छ, तर कति वाटको चार्जर हुने भन्ने कुरा खुलाइएको छैन ।

मूल्य, कलर र सार्वजनिक हुने मिति

लिक भएका विभिन्न जानकारी अनुसार नोकिया म्याजिक म्याक्सको सुरुवाती मूल्य ४०० अमेरिकी डलर (करिब ५२ हजार रुपैयाँ) पर्ने अनुमान छ ।

रातो, कालो, हरियो र गोल्डेन रङ्गमा फाेन खरिद गर्न सकिनेछ ।

कम्पनीले यो फोन कहिले सार्वजनिक हुन्छ भन्नेबारे आधिकारिक सूचना दिएको छैन । तर, विभिन्न रिपोर्टमा आउँदो अगस्टसम्म सार्वजनिक हुने दाबी गरिएको छ ।

२०७९ चैत्र २७, सोमबार प्रकाशित